रूपाकोट संवाददाता–

खोटाङ, असोज २८–असोज २९ गतेदेखि वीपी राजभार्गबाट दिक्तेल–काठमाडौं, काठमाडौं–दिक्तेल सिधा यातायात सञ्चालन हुने भएको छ । सडक विभागले सिन्धुलीको नेपालथोकदेखि रोसीखोलासम्मको विभिन्न ठाउँमा बिग्रिएको सडक मर्मत गरेपछि ठूला सवारी साधनले सिधा यातायात सेवा दिने भएको हो ।

खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङका अनुसार सडक भत्किनुअघिकै भाडा दर कायम गरी यातायात सेवा दिने भएको हो । उनका अनुसार दिक्तेल–काठमाडौं, काठमाडौं–दिक्तेलसम्मको बस भाडा १६ सय र जीप भाडा दुई हजार रूपैयाँ कायम गरिएको छ । केही दिनअघि साना सवारी साधन भने सञ्चालनमा भए पनि यात्रुबाहक बसले सेवा दिन नसक्दा यात्रु मारमा परेको भन्दै सडक विभागलाई दबाब दिएपछि सडक मर्मत गरिएको हिङ्माङले सुनाए । 

सिन्धुलीको नेपालथोकदेखि रोसीखोलासम्मको करिब ८ किलोमिटर क्षेत्रमा विभिन्न ठाउँमा पहिरोले सडक अबरुद्ध भएपछि बैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्दा बसले तीन हजार र जीपले चार हजार भाडा लिने गरेको थियो । दिक्तेल–कटारी–बर्दिबास–पथलैया– मुग्लीन, थानकोट हुदै काठमाडौंसम्मको यात्राका लागि बसमा तीन हजार र जीपमा चार हजार तिर्नु पर्ने वाध्यता थियो । अब भने वीपी राजमार्गको रुटबाट दिक्तेल–काठमाडौंसम्मको दुई सय ६५ किलोमिटरको दूरीमा सिधा यातायात सञ्चालन हुने भएको हो । यसले दसैं मनाउन घर आउनेहरूका लागि सहज हुने भएको छ ।