रूपाकोट संवाददाता–
खोटाङ, मङ्सिर २४–जिल्लामा ३४ करोड बढीको सुन्तला उत्पादन भएको छ । यो वर्ष जिल्लाको ९ सय ८० हेक्टरमा ३४ करोड १० लाख रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार यो वर्ष जिल्लामा ९ सय ८० हेक्टरमा ३४ सय १० मेट्रिकटन सुन्तला उत्पादन भएको हो । तर गत वर्षको तुलानामा १५ हेक्टरमा सुन्तला उत्पादन घटेको चौहानले बताएका छन् ।
यो वर्ष सबैभन्दा बढी जन्तेढुङगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका जगत राईले सुन्तलाबाट यो सिजनमा ७ लाख आम्दानी गरेका छन् । अढाई सय बोट सुन्तला बेच्दा यो मङ्सिरमा ७ लाख आम्दानी गरेको राईले सुनाएका छन् ।
उनी मात्र होइन यसक्षेत्रका अन्यले पनि सुन्तलाबाट लाखौं आम्दानी गरेका छन् । उक्त गाउँपालिकाको सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, घोले वाचीपाला, खुटा, कात्तिकेका किसानले सुन्तलाबाट मनग्गे आम्दानी गरेका छन् । राईका अनुसार उक्त पालिकामा करिब साडे ४ करोड रुपैया सुन्तलाबाट भित्रिएको छ ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका राम कुँवरले सुन्तलाबाट यो वर्ष १२ लाख आम्दानी हुने अनुमान गरेका छन् । गत वर्ष ९ लाख आम्दानी भएकोमा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने कुँवरको भनाइ छ ।
खोटेहाङ गाउँपालिकाका किसानले पनि सुन्तलाबाट राम्रै हाम्दानी गर्ने गरेको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका इन्द्र नारथुङेले बताएका छन् । उक्त पालिकामा भने यो वर्ष गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटेको नारथुङेले सुनाएका छन् ।
त्यस्तै रावाबेसी गाउँपालिकामा पनि सुन्तलाको उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार रावाबेसीको लामीडाडाँ क्षेत्रमा रोगले सुन्तलामा क्षति पु¥याउदा उत्पादन घटेको छ ।




















