रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक २२–दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ३९ मेघराज धमलाको हृदयघातका कारण निधन भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका धमलाको कात्तिक २१ गते साँझ मृत्यु भएको हो ।

भाइटिका लगाएर काठमाडौंबाट दाजु यादव धमलासंग दिक्तेल आउदै गरेका उनको नेपालथोक आएपछि मुटु दुखेपछि एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको थियो । त्यहाँबाट शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रेफर गरिएको र गंगालाल पुग्नासाथ त्यहाँका चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाएका छन् । उनको स्थानीय गुप्तेश्वर आर्यघाटमा अन्तष्टि गरिएको छ । धमलाको श्रीमती र दुई छोरी छन् ।

उनको निधनको शोकमा शुक्रबार नगरपालिकामा आधा घण्टा झण्डा झुकाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए । यसका साथै नगरक्षेत्रको विद्यालयहरूमा पनि शोकधुन सहित एक मिनेट मौनधारण गर्ने निर्णय गरिएको घिमिरेले सुनाए ।