रूपाकोट संवाददाता–
खोटाङ, असोज २७–खुकुरी प्रहारबाट छुट्टा–छुट्टै घटनामा दुई जना घाइते भएका छन् । साकेला गाउँपालिका–३ खिदीमामा २५ वर्षीय झरना राई र उक्त गाउँपालिकाकै वडा नं १ बाँझेच्यानडाडाँका २६ चन्द्रकुमार राई घाइते भएका हुन् ।
खिदीमाका २७ वर्षीय रवीन राईले नाताले बहिनी पर्ने झरनालाई शुक्रबार साँझ खुकुरी प्रहार गरी सख्त घाइते बनाएको र रवीनलाई त्यसै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । झरनाको बाँया हातको नारीमा गम्भिर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ ।
त्यस्तै उक्त गाउँपालिकाकै वडा नं १ बाँझेच्यानडाँडाको डाँडागाउँमा आफ्नै भाइको खुकुरी प्रहारबाट २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । असोज २६ गते बिहान करिब साडे ११ बजेतिर मादक पदार्थ सेवन गरी २० वर्षीय महेश राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा घाइतेको उपचार हुन नसकेपछि उनलाई पनि अन्यत्रै पठाइएको डिएसपी विष्टले बताए ।




















