रूपाकोट संवाददाता–

खोटाङ, असोज २२–काठमाडौंबाट भोजपुर आउदै गरेको बस मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी–५ द्वारेखोलामा असोज २१ दिउँसो भएको दुर्घटनामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २५ वर्षीय निश्चल राई र भोजपुर हतुवागढी गाउँपालिका १ का २६ वर्षीय बुद्धिराम तामाङको मृत्यु भएको छ । प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुर यात्रुवाहक बस दुर्घटनामा ४४ जना जना घाइते भएका छन् । 

यसमध्ये खोटाङको २८ जना र ठेगाना नखेलका ४ जना घाइते छन् । घाइतेमध्ये हलेसी तुवाचुङ नगरपालिकाका १९ जना छन् । उक्त दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका एकै घरमा ६ जना परेका छन् । यसमध्ये ३५ वर्षीया लीला राई, उनका ३ वर्षीया छोरी हिम्साना, ३ वर्षीय छोरा हिल्साङ, २० उज्ज्वल राई र १८ वर्षीया पूर्णीमा राई परेका हुन् । यसमध्ये हिम्साना र हिल्साङ लीला राईका जुल्लयाहा छोरा–छोरी हुन् । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ की २० वर्षीया मेलिसा राई, १९ वर्षीय कोषराज राई घाइते भएका छन् । त्यस्तै उक्त नगरपालिकाकै ३१ वर्षीय दीपेन्द्र राई, २४ वर्षीय सतेन्द्र राई, २२ वर्षीय रमन राई, १९ वर्षीया पुष्पान्जली, १७ वर्षीया गितान्जली, १२ वर्षीय बसन्त कार्की र ४५ वर्षीय कान्छा कार्की घाइते भएको डिएसपी विष्टले बताए ।

उक्त दुर्घटनामा साकेला गाउँपालिका १ की ३२ वर्षीया लक्ष्मी भुजेल, ४२ वर्षीय युवराज भुजेल, १४ वर्षीय युवलव भुजेल, २५ वर्षीय समीर भट्टराई, १९ वर्षीय कृष्ण बास्तोला, १८ वर्षीया शोभा रसाइली, २० वर्षीया सविसा बास्तोला, २३ वर्षीय नवराज कटवाल, खोटेहाङ गाउँपालिका ३ का ५० वर्षीया सारदा मगर घाइते भएका छन् । यसबाहेक ३० वर्षीय अर्जुन प्रधान, ३२ वर्षीय राजकुमार प्रधान, ३५ वर्षीय धु्रब फर्कोटे, ४० वर्षीय सन्जीव फर्कोटेको ठेगाना नखुलेको विष्टले बताए । उनीहरूमध्ये केही सिन्धुली अस्पतालमा, केही जनकपुरस्थित न्युरो अस्पतालमा र केहीको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी ३५ वर्षीया लिला राईको ३ वर्षीया छोरी हिम्साङ राई जनकपुरमा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका नवराज कट्वालको धरानमा आइसीयुमा राखेर उपचार भइरहेको छ । एकजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलकोट सिन्धुली, १२ जना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चारजना घाईतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको छ । कतिपय उपचारपछि डिस्चार्ज भइसकेको डिएसपी विष्टले बताए ।