नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–विभिन्न मुद्दामा तीन जना पक्राउ परेका छन् । नाबालिकालाई जबरजस्ती गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका ३१ वर्षीय शम्भुधन राई, बृद्धा बलात्कार अभियोगमा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका ४१ वर्षीय नवीन राई र बैंकिङ कसुरमा धनुषा सबैला नगरपालिका–७ का ३४ वर्षीय सतेन्द्र नायक पक्राउ परेका हुन् ।
१४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा शम्भुधनलाई पक्राउ गरी अनुसन्धान बढाएएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनका अनुसार राईले पटक–पटक जबरजस्ती करणी गरेको र पछिल्लो पटक २०८० फागुन ८ गते विहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा शुक्रबार पक्राउ गरी भदौ १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
त्यस्तै ७४ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका ४१ वर्षीय नवीन राई पक्राउ परेका छन् । राईलाई भदौ १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
डिएसपी खड्काका अनुसार ७४ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको भन्ने भदौ १४ गते जाहेरी परेको र त्यसै दिन पक्राउ गरी भदौ १६ गते पाँच दिनको म्याद थप गरिएको हो ।
त्यसै गरी बैंकिङ कसुरमा एक जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का नवराज रिजालको जाहेरीले धनुषा सबैला नगरपालिका–७ का ३४ वर्षीय सतेन्द्र नायक पक्राउ परेका हुन् ।
नायकले रिजालको नाममा तीन लाख रूपैयाँको चेक दिएको तर बैंकमा जादा रकम नभएको भनि चैक वाउन्स गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेपछि अदालतको आदेशमा धनुषामा पक्राउ गरी भदौ १६ गते नै पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको डिएसपी खड्काले बताए ।

















