रूपाकोट संवाददाता–
खोटाङ, माघ २–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ सुरु भएको छ । किरात यले दोङ (किरात सम्वत्) ५०८५ को अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्व मन्त्री सुदन किरातीले चखेवामा माघ १ गते उद्घाटन गरेका हुन् ।
उक्त भ्रमण वर्षको सुरुवातीमा टेम्केमैयु गाउँपालिकाको आयोजनामा चखेवामा मङ्गलबारदेखि पाँच दिने सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको हो । उक्त मेलामा विभिन्न सांस्कृतिक झाँकी तथा कृषिजन्य उत्पादन प्रदर्शन गरिएको छ ।
किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, संखुवासभा लगायतका विभिन्न जिल्लाहरूलाई समेटेर ८ वर्षअघि सुरु गरिएको मुन्दुम ट्रेल अहिले सप्तकोसीको कोसी टप्पुदेखि सगरमाथा (चोमालुङ्मा)को आधार शिविरसम्म ग्रेटर मुन्दुम ट्रेलको रूपमा विस्तार भइरहेको राईले जनाएका छन् । भ्रमण गर्न चाहनेहरूले सप्तकोसीको कोसी टप्पुदेखि विभिन्न ठाउँबाट सुरु गर्न सकिने राईले बताएका छन् । पाँचदेखि १५ दिनसम्मको प्याकेजमा मुन्दुम ट्रेल भ्रमण गर्न सकिने राईको भनाई छ । मुन्दुम टे«ल भर्जिन र १० देखि ८० वर्षसम्मकाले सहज यात्रा गर्न सक्ने भएकाले पर्यटकका लागि रोजाइमा पर्ने राईले बताए ।
भ्रमण वर्षमा करिब एक लाख पर्यटक भित्राउन लक्ष्य लिइएको ट्रेल भ्रमण वर्ष २०२५ का आयोजक मध्येका रमेश राईले बताए । भ्रमण वर्षको अवधिमा सिजन अनुसार पर्यटनसंग सम्वन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरिएको राईले जनाए । उनका अनुसार भ्रमण वर्षमा भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुरास तथा घोडचढी एबम फिल्म सुटिङ महोत्सव बैशाखमा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव बैशाखमा र फागुन १५, १६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने राईले सुनाए ।
त्यस्तै भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकाले आगामी कात्तिकमा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकुर महोत्सब लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए । यसबाहेक हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाले सप्तकोसीदेखि महाकुलुङसम्मको अल्ट्राम्याराथुनको आयोजना गर्ने राईले बताए ।




















