रूपाकोट संवाददाता–
खोटाङ, मङ्सिर २८–दिक्तेलस्थित सरस्वती माविबाट २०५० सालमा एसएलसी उतीर्ण गर्ने विद्यार्थीहरूले विद्यालयमा शुुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान गरिदिएका छन् । २०५० सालमा एसएलसी उतीर्ण गर्ने ४३ विद्यार्थीले ६ लाख बजेटमा शुद्ध पिउने पानी प्रशोधण गर्ने उपकरण जडान गरिदिएका हुन् ।
विद्यार्थीहरूले जडान गरिदिएको उपकरण मङ्सिर २८ गते कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका हुन् । विद्यालबयको छतमा दुई हजार लिटर क्षमताको एक वटा रिर्जभ ट्याङकी, एक हजार लिटर क्षमताको एकवटा फिल्टर ट्याङ्क प्लान्ट र उपकरण जडान गरिएको छ । प्रसारण लाइनमार्फत आवश्यकता अनुसार विद्यालय परिसरमा पाँचवटा धारा जडान गरेर पानी चालू गरिएको विद्यालयका प्रधानाध्यापक शिवहरि ढकालले बताएका छन् ।
शुद्ध खानेपानी प्रशोधन उपकरण उद्घाटन कार्यक्रमकै अवसरमा २०५० सालदेखि हालसम्म उक्त विद्यालयमा कार्यरत सात जना प्रधानाध्यापक र २०५० सालमा अध्यापन गराउने शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको पूर्वविधार्थी इन्द्र कसजुले बताएका छन् । कसजुका अनुसार शिक्षक भवकृष्ण ढकाल, मन्दत्त राई र मोहन राजभण्डारीलाई मरणपरान्त सम्मान गरिएको छ ।
उच्च शिक्षासँगै भविष्य खोज्दै विद्यालयबाट वाहिर गए पनि विद्यालयप्रतिको माया र वाल्यकालमा खेपेको खानेपानीको समस्यालाई ध्यानमा राखेर खानेपानीको प्राथमिकता देखिएकाले शुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान गरिएको कसजुको भनाई छ ।
फेसबुकमा ग्रुप बनाएर छलफल गरेर पूर्व विद्यार्थी जितेन्द्र राईको अध्यक्षतामा समिति बनाएर विद्यालयमा पानी प्रशोधन गर्ने उपकरण खरिदका लागि सहयोग संकलन गरिएको थियो । पानी प्रशोधन उपकरण खरिदका लागि पूर्वविद्यार्थीहरुले न्युनतम पाँच हजारदेखि एक लाखसम्म सहयोग गरेको कसजुले सुनाएका छन् । कार्यक्रममा मन्त्री अधिकारी सहित प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतको उपस्थिति थियो । उक्त विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।




















