रूपाकोट संवाददाता-

खोटाङ, मङ्सिर २७–जिल्लामा अलैचीबाट ५२ करोड ६६ लाख रूपैयाँ बढी भित्रिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा उत्पादन भएको अलैची निकासीबाट ५२ करोड ६६ लाख रूपैयाँ जिल्ला भित्रिएको हो ।

अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रेमकुमार राईका अनुसार प्रतिमन ८६–८७ हजार रूपैयाँका दरले अलैची खरिद विक्री भएको छ । यसमा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा अलैची बिक्रीबाट २१ करोड ५० हजार भित्रिएको छ । त्यस्तै खोटेहाङ गाउँपालिकामा ११ करोड ३१ लाख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६ करोड ९० लाख, ऐसेलुखर्क गाउँपालिकामा चार करोड एकतीस लाख, साकेला गाउँपालिकामा चार करोड तीस लाख, जन्तेढुङ्गा गाउँपालिकामा दुई करोड नौ लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई करोड आठ लाख गरी ५२ करोड ६६ लाख रूपैयाँ भित्रिएको राईले बताएका छन् । यो वर्ष अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले अलैची उत्पादन घटेको राईले बताएका छन् । 

यो वर्ष बजारमा खोटाङको अलैची प्रतिमन एक लाख पाँच हजार रूपैयाँसम्ममा बिक्री भएको राईले बताएका छन् । खोटाङको अलैची झापा हुदै भारतको ट्रेडमार्क मार्फत अन्तर्राष्ट्रिय बजारमा जाने गरेको राईको भनाई छ ।

यो वर्ष जिल्लामा १३ हजार पाँच सय ५० मन अलैची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताएका छन् । राईका अनुसार जिल्लामा एक हजार ६४ हेक्टर जमिनमा अलैची उत्पादन हुन्छ ।