रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक २४–रावाबेसी गाउँपालिकामा कात्तिक २४ गते भएको आगलागीबाट दुई वटा घर जलेर नष्ट हुदा ११ लाख रूपैयाँ बढीको क्षति भएको छ । उक्त गाउँपालिका–५ दुबेकोलका वीरबहादुर गुरुङको दुई वटा घर दिउसो जल्दा ११ लाख ४ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार गुरुङको ढुङ्गा–माटोले बनेको फुसको छानो भएको तीन तले दुई वटा घरमा दिउसो ४ बजे लागेको आगोले उक्त धनमाल जलेर नष्ट भएको हो । डुम्रेधारापनीबाट खटिएको प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको पोखरेलले बताएका छन् । आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।