रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक २३–सिकार खेल्न गएका आफ्नै साथीले हानेको गोलीबाट एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको स्थानीय २५ वर्षीय चेतन राईले हानेको भरुवा बन्दुकको गोलीबाट मृत्यु भएको हो ।

उनीहरू दुवैजना कात्तिक २१ राती हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न गएको र साथीको गोलीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरलेलले बताए । घटनापछि जङ्गलमा लुकेर बसेको चेतनलाई लोकेसन ट्रयाक गरेर कात्तिक २२ गते पक्राउ गरी राती जिल्ला ल्याइएको पोखरेलले सुनाए । घटनास्थलमा मृतकले बोकेको लोड गरेको एक नाल भरुवा बन्दुक र चेतनले चलाएको एक नाल फायरिङ भइसकेको भरुवा बन्दुक बरामत गरेको पोखरेलले बताए । 

पक्राउपछि राती मात्र जिल्ला प्रहरी कार्यालयमा ल्याइएको चेतनमाथि हात हतियार खरखजना तथा कर्तव्य ज्यानमा मुद्दा चलाइने पोखरेलले बताए । तर जाहेरी आइनसकेको पोखरेलको भनाई छ । जाहेरी आएपछि हात हतियार खरखजना तथा कर्तव्य ज्यानमा मुद्दा चलाएर घटनाबारे थप अनुसन्धान बढाइने पोखरेलले बताए । मृतकको शव जिल्ला अस्पताल दिक्तेलमा कात्तिक २३ गते विहान १० बजे पोष्टमार्टम गरिएको पोखरेलले बताए ।