रूपाकोट संवाददाता–
खोटाङ, कात्तिक ५–प्रथम सोल्मा यू १७ फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम सोल्मा स्पोर्टस् क्लव (निलो)ले चुमेको छ । सोल्मा स्पोर्टस् क्लवको खेल मैदानमा कात्तिक ५ गते भएको खेलमा दिक्तेल फुटबल क्लवलाई ३–० हराउदै उपाधि चुमेको हो ।
खेलको पहिलो हाफको ९ मिनेटमा सोल्मा निलोका जर्सी नम्बर ६ का खेलाडी प्रवीण तामाङले खाता खोलेका थिए । दोश्रो हाफको २० औं मिनेटमा सोल्मा निलोका गोल किपर पास्कल बस्नेतले पोष्टबाटै हानेको बल गोलमा परिणत भएको हो । दोश्रो हाफको ३३ औं मिनेटमा सोल्मा निलोका जर्सी नम्बर ११ का खेलाडी तिलक कार्कीले तेश्रो गोल गरेका थिए ।
विजेता टिमले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कार समेत पाएका छन् । बेष्ट प्लेयरमा सोल्मा निलोका तिलक कार्की, हाइ स्कोररमा सोल्मा निलोकै प्रवीण तामाङ, बेष्ट किपरमा सोल्मा निलोकै पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा सोल्मा निलोकै दिलीप राई, बेष्ट मिडफिल्डर सोल्मा निलोकै आशिष राई र बेष्ट कोच सोल्मा निलोकै सनम राई घोषित भए । उनीहरूमध्ये बेष्ट प्लेयर तिलक कार्कीले दुई हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा अन्य विधागत पुरस्कार विजेताहरूले जनही एक हजार एक सय ११ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको आयोजक अम्मर श्रेष्ठले बताएका छन् ।
चाडबाडको बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराई कुलतबाट जोगाउँन खेल आयोजना गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबबिक्रम राईले बताएका छन् । कात्तिक २ गतेदेखि ५ गतेसम्म भएको उक्त प्रतियोगिता जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यमा भएको हो ।




















