रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक १–आत्महत्या, भवितव्य जस्ता घटनाबाट ज्यान गुमाएकाहरूको शव पोष्टमार्टम गर्न अस्पतालसम्म पु¥याउन महङ्गोमा ट्याक्टर रिजर्ब गर्नु पर्ने वाध्यता छ । जिल्लामा शववाहन नहुनुका साथै अन्य सवारी साधनले शव बोक्न नमान्ने भएकाले महङ्गोमा ट्याक्टर रिजर्ब गरेर शव बोक्नु पर्ने वाध्यता आइपरेको हो ।

खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामायाँ विश्वकर्माले असोज–२८ गते झुण्डिएर आत्महत्या गरेपछि शव बोक्न ट्याक्टर रिजर्ब गर्दा ४५ हजार तिर्नु परेको वडाअध्यक्ष तिलकबहादुर बस्नेतले बताए । चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र इन्द्रेणीपोखरीस्थित आधारभूत अस्पतालका चिकित्सक दसैं विदामा घर गएकाले जिल्ला अस्पताल दिक्तेलसम्म शव पु¥याउन उक्त रकम तिर्नु परेको बस्नेतले जनाए । आर्थिक अवस्था कमजोर, श्रीमान पनि अपाङ्ग, ट्याक्टर भाडा तिर्न गाउँपालिकाकै कर्मचारी रोशन पौडेलको पहलमा चन्दा सङ्कलन गरेर पोष्टमार्टमका लागि दिक्तेल पठाइएको बस्नेतले सुनाए । निम्न आर्थिक अवस्था भएकाहरूले नै बढी आत्महत्या गर्ने गरेको र पैसा नहुनेका लागि मरेर पनि धर नपाउने बस्नेतले बताए ।

त्यस्तै असोज २८ गते नै झुण्डिएर आत्महत्या गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डढेलीका ५२ वर्षीय इन्द्रकुमार राईको शव पोष्टमार्टम गर्न दिक्तेलसम्म ल्याउदा ट्याक्टरका लागि १८ हजार तिर्नु परेको छ । आर्थिक अवस्था कमजोर भएका उनका छोरा चन्द्रमणिले आफन्तसंग ऋण लिएर ट्याक्टर रिजर्ब गरेका हुन् । खार्मी–दिक्तेल १३ किलोमिटर दूरीमा ९ हजारमा अन्य सामान ढुवानी गर्दै आएको ट्याक्टरले १८ हजार लिएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङको रेकर्ड अनुसार गत साउन–१ गतेदेखि असोज–३० गतेसम्ममा जिल्लामा १३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने सबैको शव ट्याक्टरबाटै पोष्टमार्टम गर्न ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ मा ३७ र आर्थिक वर्ष २०७९/८० मा ५१ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्लामै शववाहन नभएपछि कोसी प्रदेश स्वास्थ्य मन्त्रालयमा गएर माग गर्दा दिन्छु भनेको तर अहिलेसम्म नदिएको जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति एबम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।