रूपाकोट संवाददाता–

खोटाङ, असोज ५–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तीन दिनअघि नियन्त्रणमा लिएको काठ सहितको गाडीहरूको चाँबी असोज ५ गते वनका कर्मचारीलाई बुझाएको छ । इजाजत बिनाको काठजन्य वस्तु बोकेको तीन वटा ट्याक्टर र एउटा ट्रिपरलाई नियन्त्रणमा लिई त्यसको चाँबी बुझाएको हो ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार राजश्व छली गरी निकासी गर्दै गरेको काठ बोकेको गाडीहरू नियन्त्रणमा लिएर त्यसको चाँबी सव डिभिजन वन कार्यालय खोटाङबजारका वन रक्षक सन्तोष कटवाललाई बुझाएको हो । 

काठको गोलिया बोकेको गाडी रोकेर इजाजत पत्र माग्दा २०८० सालको पुरानो इजाजत देखाएपछि काठ सहितको गाडीलाई नियन्त्रणमा लिइएको राईले बताए । काठ सहितको गाडी नियन्त्रणमा लिएर सब डिभिजन कार्यालय खोटाङबजारका कर्मचारीलाई बोलाइएको समेत राईले बताए । 

व्यवसायीसग भएको इजाजतमा उल्लेख भए अनुसारको जग्गाको काठ काटेको हो, होइन भन्ने अनुसन्धान गर्नु पर्ने वन रक्षक कटवालले बताए । फेला परेको इजाजतमा उत्तिसको काठ निकासी गर्ने उल्लेख गरिए पनि कटुस, ओखर लगायत प्रजातिका काठहरू समेत फेला परेको छ । 

नियन्त्रणमा लिइएको करिब ३०० क्युफिट उत्तिस, कटुस, ओख्खरलगायत प्रजातिका गोलिया काठ गाउँपालिकाको कार्यालय परिसरमा राखिएको छ । उत्तिसको काठ निकासी गर्दा प्रतिक्युफिट एक सय प्रदेश सरकारलाई र त्यसको १३ प्रतिशत भ्याट सङ्घीय सरकारलाई बुझाउने व्यवस्था छ । 

नियन्त्रणमा लिइएको गोलिया काठ निकासीका लागि विभिन्न तीनवटा कटान आदेश भएको पाइएको छ । उक्त कटान आदेशमा उल्लेख गरिएअनुसारका जग्गाबाट काठ कटान नभई अन्यत्रबाट ल्याइएको हुन सक्ने भएकाले यसलाई थप अनुसन्धान गर्नु पर्ने राईको भनाई छ ।