नमस्ते खोटाङ संवाददाता–
बागलङ, भदौ २८—काठमाडौंबाट पूर्वी रुकुम तर्फ गइरहेको सरकारी जिप मध्यपहाडी लोकमार्गमा भदौ २८ गते विहान दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूूपेन्द्रा बुढासहित तीनजनाको निधन भएको छ । उक्त दुर्घटनामा बुढाकी आमा ६१ वर्षीया गोपीमायाँ बुढा र वडा नं २ का वडाअध्यक्ष जसवीर सिर्पालीको समेत निधन भएको हो ।
घटनामा चालक २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएका छन् । उनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । मृतकको शव गलकोट नगर अस्पतालमा लगिएको छ ।
साताअघि उपाध्यक्ष बुढा आफ्नो दाँतको उपचार र आमाको पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएकी थिइन् । भदौ २८ गते बिहान वडाअध्यक्ष सिर्पाली पनि भेटेर सँगै फर्किँने क्रममा उक्त दुर्घटना भएको हो । लामो यात्रा र रातभर गाडी चलाउँदा चालक थकित भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ । कार्यपालिकाको बैठकको तयारी गर्नु परेकोले उपाध्यक्ष हतारमा रहेकोले रातभर यात्रा गरेको अनुमान छ । पछिल्लो समय बागलुङ हुँदै काठमाडौं जान थालेपछि एकैदिनमा यात्रा गर्ने गरी रुकुम र जाजरकोटसम्मका सवारीसाधनहरू मध्यपहाडीमा गुड्ने गरेका छन् ।




















