नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २४–प्रधानमन्त्री केपी ओलीले ४ वर्षअघि देशभर एकसाथ शिलान्यास गरेको तीन सय ९६ आधारभूत अस्पतालमध्ये हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन आधारभूत अस्पताल अलपत्र परेको छ । ओलीले २०७७ मङ्सिर १५ गते देशभर एकैसाथ शिलान्यास गरेको अस्पताल भवन मध्ये हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको पात्लेस्थित निर्माणाधीन भवन अलपत्र परेको हो ।
११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँको लागतमा १५ शैयाको आधारभूत अस्पताल भवन निर्माणको ठेक्का नमुना हिमालयन जेवी विराटनगरले लिएको थियो । उक्त निर्माण कम्पनीले २०८० असारभित्र सक्ने गरी २०७८ साउन ८ गते संझौता गरेको थियो । तर अस्पताल भवन भने सुरुकै चरणमा अलपत्र परेको छ । उक्त योजनाको ४ करोड ११ लाख २८ हजार ५८ रूपैयाँ भुक्तानी भएको लेखापाल भीम ढकालले बताए ।
उक्त योजनाको २०८० साउन ८ गते असारमा एक वर्षका लागि म्याद थप गरिएको र त्यो पनि गत असारमै सकिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।
भूगोलका कारण डिजाइन परिवर्तन गर्नु पर्ने अवस्था आएको तर उक्त डिजाइन मन्त्रालयले स्वीकृतिमा ढिलाई गरेकाले अस्पताल भवन अलपत्र परेको गिरीले जनाए । ‘भूगोलका कारण डिजाइन चेन्ज गर्नु पर्ने भएकाले ढिलो भएको हो,’ गिरीले भने–‘अब असोजसम्म डिजाइन स्वीकृति हुन्छ, त्यसपछि भवन बन्न सुरु हुन्छ ।’
उक्त अस्प्ताल भवनको म्याद थपको तयारी गरिएको समेत गिरीले बताए । ‘२०८० साउन ८ गते एक वर्षका लागि म्याद थप गरिएको थियो, त्यो पनि सकियो, अब फेरि म्याद थप गरेर काम सम्पन्न हुन्छ ।’




















