रूपाकोट संवाददाता–

खोटाङ, भदौ ८–हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको इसुजु हाइलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट भदौ ८ गते साँझ सुनकोसी नदीमा खस्दा तीन जना बेपत्ता छन् । एक जना हाम फालेर जोगिएका छन् । उनी पनि घाइते छन् ।

सिन्धुली प्रहरीका अनुसार हाइलक्समा सवार ४ मध्ये नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका हुन् । हाम फालेर जोगिएका भक्तपुर सूर्य विनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । घाइते कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

सुनकोशीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् ।

सुनकोशीको बहाव बढिरहेकाले बेपत्ताको खोजीमा सशस्त्रको गोताखोर परिचालन भएको सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।